
काठमाडौं— पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले गरेको मूल्यवृद्धिप्रति प्रश्नैप्रश्न गरेका छन् । सरकारले चाडबाडको मुखमा इन्धन र खाद्यान्न मूल्यवृद्धि गरेपछि बाबुरामले आइतबार जनताप्रति असंवेदनशील हुँदै गएको भन्दै प्रश्न गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्,‘सरकार जनताप्रति यति असंवेदनशील किन र कसरी बन्छ ? हिजो जनताको घरदैलोमा बसेर क्रान्तिको नेतृत्व गर्नेहरू केही वर्ष सिंहदरबार र बालुवाटारमा बस्दैमा जनताको चुलो कसरी बल्छ भन्ने चटक्कै बिर्सन कसरी सक्छन् ?
त्यसै त चौतर्फी मन्दीको फलस्वरूप अहिले प्रमुख चाडबाडको मुखमा गाउँशहर कतै उत्साह छैन, चहलपहल छैन । लालबालालाई नानाखाना जुटाउन धौधौ छ । बेरोकटोक महंगी छ । ढुवानी र यातायात भाडाको चर्को मार छ । यस्तो बेला सबैतिर महंगी नियन्त्रणमा जोड दिनुपर्नेमा उल्टै पेट्रोलियम पदार्थको मूल्यवृद्धि किन गरेको ?’
अध्यक्ष भट्टराईले दसैँ, तिहार र छठ लगायतका विभिन्न समुदायका प्रमुख चाडपर्वको मुखमा जुनसुकै बहानामा भएपनि इन्धनको मूल्य बढाउँदा सबैतिर महंगी झन् बढ्छ र जनताको ढाड सेकिन्छ भन्ने नबुझेको कि लाज पचाएको ? भन्दै प्रश्न गरेका छन् ।
उनले भने,‘आयातमा भर पर्ने इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्ने बित्तिकै बढाउनैपर्ने तर्क गर्नेहरूले कमसेकम चाडबाड र बढी खपत हुने समयमा बेलैमा पर्याप्त सञ्चय गर्ने, आयल निगमको अनावश्यक खर्च कटाउने, बोनस लगायतका नाउँमा सार्वजनिक आम्दानीको दोहन नगर्ने, विशिष्ठ अवस्थामा अन्यत्रको खर्च कटाएर पनि आमजनतालाई सीधै मर्का पर्ने र सबैतिर मूल्यवृद्धि गराउने इन्धनमा राहत अनुदान दिने आदि व्यवस्था गर्नुपर्दैन ?’ भट्टराईले अतिले खति गर्छ भन्दै सरकारलाई स्मरण गराएका छन् ।













