
तनहुँ— तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आलेले विगत केही वर्षदेखि बाख्रापालन गर्दै आएकी छिन् । उनले गाउँमा नै बाख्रा बिक्री गरी आम्दानी गरेकी हुन् । ‘बाख्रापालन व्यवसायबाट वार्षिक सात लाखभन्दा बढी आम्दानी हुने गरेको छ,’श्रीमायाले भनिन् ।
उनले यसवर्ष १५ बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरिन् । भन्छिन्,‘बाख्रापालन व्यवसायबाट सन्तुष्ट छु, यही व्यवसायबाट घरपरिवार चल्दै आएको छ ।’ बाख्रक लागि उनले १५ रोपनी जग्गामा घाँसखेतीसमेत रोपेकी छिन् । मकै, कोदो रोप्ने बारीमा उन्नत जातका डाले तथा भुइँ घाँस लगाएको किसान आलेको भनाइ छ ।
उनका अनुसार बडहर, राइखनियो, इपिलइपिल, मेन्दोला, कुटमेरो, भटामासे, किम्बु, निमारोलगायतका डाले तथा नेप्पियर सिओफोर, सिओ थ्री, सुपर नेपियर, मलाटो, मकैचरीलगायतका भुइँ घाँस लगाइएको छ ।
उनले पछिल्लो समय १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गरेकी छिन् । खोरमा गर्भवती बाख्रा, किशोरी बाख्रा, पाठापाठी, ब्याड बोका र सुत्केरी बाख्रा राख्ने छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । यसरी कोठामा बाख्रा राख्दा बाख्रा तुहिने समस्या नहुने र रोगबाट बचाउन सकिने उनको भनाइ छ ।
किसान आलेले नौ महिनादेखि एक वर्षको अवधिमा ४५ केजीभन्दा बढी तौलका खसीबोका उत्पादन गरी बिक्री गर्ने गरेको जानकारी दिइन् । उनका अनुसार ब्याडका रूपमा बिक्री गर्ने बोका जिउँदो प्रतिकेजी एक हजारका दरले बिक्री हुँदै आएको छ ।
एउटै ब्याड बोका बिक्री गर्दा ४० हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । मासुका लागि जिउँदो तौलको प्रतिकेजी पाँच सय ५० का दरले खसीबोका बिक्री भएको छ ।