
काठमाडौं— प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको छ । त्यसैगरी सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् ।
आजै ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठक अवरुद्ध गर्ने तयारीमा एमाले
सरकारले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आलटाल गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी एमाले संसद्मा फेरी आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको छ । आइतबारको प्रतिनिधि सभाको बैठकमा शून्य र विशेष समय बाहेक सरकारको बिजनेस रहेको कार्यसूची प्रवेश गर्न नदिने तयारीमा एमाले छ ।
सुन तस्करी प्रकरणमा छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले लगातार संसद् अवरोध गरेपछि भदौ ६ गते सरकार प्रतिपक्षीको मागमा सहमत भएको थियो । सहमति अनुसार असोज ५ गतेभित्र उच्चस्तरीय छानबिन समिति बनाउने भन्ने थियो ।
एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले भने, ‘सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा सरकारले बेइमानी गर्यो, राजनीतिक धोका दियो, बहानाबाजी गर्यो, प्रमुख प्रतिपक्षी दलमाथि अनेक लाञ्छना लगाउने काम गर्यो । समय गुजार्दै आजसम्म पुग्यो । आजको संसद् बैठकमा सरकारले गरेको बेइमानी, धोकाको हामी हिसाब किताब माग्छौँ, भण्डाफोर गर्छौँ । सरकारको चरम विरोध गर्छौँ ।’













