News Griha :: न्यूजगृह
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता

पर्वत— पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ ।

कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो । जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भने भइसकेको छैन ।

जीपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । बेपत्ता यात्रुको खोजी जारी छ ।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप शनिबार साँझ बाढीले बगाउँदा तीन जनासहित बेपत्ता भएको थियो । खोलामा बाढीले ल्याएको ढुंगा पन्छाउने क्रममा जीप बगेको हो । सोही क्रममा जीपका चालक वसन्त थापा बाढी पन्छाउन झरेका कारण ज्यान जोगाउन सफल भएका छन् ।

घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले आइतबार बिहानै देखि उद्धार कार्य जारी राखेका छन् । शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी गएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०६:३५
Weather Update