News Griha :: न्यूजगृह
कर्णाली एमाले अधिवेशन : मतदान प्रक्रिया आज

सुर्खेत— प्रमुख प्रतिपक्षी नेकपा एमाले कर्णाली प्रदेशको निर्वाचन प्रक्रिया आइतबार बिहान ८ बजेबाट सुरु हुने भएको छ ।

शनिबार  बेलुकी ६ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने भनिए पनि व्यवस्थापनको अभावका कारण मतदान प्रक्रिया अगाडि बढ्न नसकेपछि आज मात्र मतदान हुने भएको हो । 

बुधबारबाट जारी अधिवेशन अन्तर्गत शनिबार बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको अन्तिम नामावली साँझ ५ बजेमात्रै प्रकाशित भएको थियो । निर्वाचन समितिले मतपत्र छपाई लगायतका व्यवस्थापकीय बाटोमा तदारुकता नदेखाउँदा निर्वाचन प्रक्रिया लम्बिएको हो ।

अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेका एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले आज बिहान ८ बजेबाट मतदान सुरु हुने जानकारी दिए । कर्णालीमा अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

कर्णाली प्रदेशसभा पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । 

प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमाले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो । प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिएका थिए । तर नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको हो । 

एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ३५ सदस्य चयन गर्नेछ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०६:२८
Weather Update