
सुर्खेत— वीरेन्द्रनगरस्थित उषा बालवाटिका विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको स्कुलको होस्टेलमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ का सलाम पुलामी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी उषा बालवाटिकामा कक्षा २ मा अध्ययनरत थिए । उनी शुक्रबार राति होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
बालकको शव अहिलेसम्म उठाइएको छैन । घटना शंकास्पद भएको भन्दै आफन्तहरू आन्दोलन गरेका छन् । आफन्तले होस्टेल बाहिर तोडफोड गरेपछि विद्यालय परिसर तनावग्रस्त बनेको छ । विद्यालय परिसरमा प्रहरी तैनाथ गरिएको छ ।
आफन्तहरू घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीले सञ्चालक समितिलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी योगेन्द्रबहादुर थापाले जानकारी दिए ।
‘प्रहरीले भिडलाई नियन्त्रणमा लिएको छ । शवको मुचुल्का उठाउने काम भइरहेको छ,’ एसपी थापाले भने, ‘घटना संवेदनशील छ, थप अनुसन्धान गरिरहेका छौं ।’













