News Griha :: न्यूजगृह
कस्तो रह्यो प्रधानमन्त्रीको चीन भ्रमण ? 

चीन— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । मन्त्री साउदले आर्थिक एवम् कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए । चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको भएको भन्दै उनले दुई देशबीच भएका समझदारी एवम् सम्झौताहरू पनि नेपालको हित एवम् आर्थिक विकासका पक्षमा रहेको उनको भनाइ थियो ।

‘अगामी दिनमा चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउने सहमति भएको छ’, उनले भने,‘दुई देशका बीच भएका विभिन्न १३ वटा सम्झौता र समझदारी तथा दुई देशबीचका परम्परागत सबै नाका खोल्ने सहमतिको परिणाम आगामी दिनमा नेपालको हितमा आउनेमा विश्वास छ ।’

भ्रमणका क्रममा चीनले लामो समयदेखि नेपाललाई उपलब्ध गराउँदै आएका अनुदान परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विषयमा कुराकानी भएको र नाका खोल्ने विषयमा चीन सरकार पूर्णरूपमा सहमत भएको उनको भनाइ छ । अब  नाका खोल्ने विषयको प्रक्रिया छिट्टै अगाडि बढ्ने विषय सुनिश्चित भएको पनि मन्त्री साउदले बताए ।

वि.सं.२०७२ को भूकम्प र कोरोना महामारीका कारण बन्द भएका नाकाहरु पुनः सञ्चालन गर्ने र केही नाकाको स्तर वृद्धिसमेत गर्ने सहमतिले सीमा क्षेत्रका नागरिकका लागि पनि यो खुसीको विषय भएको मन्त्री साउदले बताए । त्यसैगरी दुई देशका बीचमा त्यति ठूलो सीमा विवाद नभए पनि सीमालाई अद्यावधिक गर्नुपर्ने भएकाले सीमा क्षेत्रमा निरीक्षणका लागि दुवै देशको संयुक्त टोली बनाइ काम गर्ने सहमति भएको मन्त्री साउदले बताए ।

चीनसँग नेपालको व्यापार घाटा कम गर्नका लागि कृषिजन्य वस्तुको उत्पादन र चीन निर्यात गर्न सकिने उनको भनाइ छ । यसका लागि नेपालको कृषि उपजका साथै याक, गाई, चौँरीआदिको प्रजननको व्यवस्था नेपालमा भित्र्याउने विषयमा पनि चीनसँग महत्वपूर्ण सहमति भएको उनको भनाइ छ ।

कृषि क्षेत्रको विकासका सन्दर्भमा यो सम्झौता महत्वपूर्ण विषय भएको र यसले नेपालको कृषि उपजलाई चीन निर्यात गर्न र नेपालमा कृषिमा आधारित उद्योग धन्दाहरू खोल्नका लागि सहयोग पुग्नेमा मन्त्री साउदले विश्वास व्यक्त गरे । मन्त्री साउदले भ्रमणमा चीनका राष्ट्रपति र प्रधानमन्त्रीले पनि नेपाललाई उच्च महत्व दिएर कुराकानी गरेको र नेपालले पनि आफ्नो हित र चासोका विषयमा आफ्ना विषयहरु उच्च तहमै स्पष्टसँग राखेको बताए ।

npsaud-1696042351.jpg

परराष्ट्रमन्त्री एनपी साउद

उनले विभिन्न विषयमा दुई देशबीच गहनरुपमा छलफल भएको र यसबाट नयाँ समझदारी निर्माण भएको आफूले पाएको बताए । यस भ्रमणका क्रममा चीन सरकारले नेपाललाई उच्च महत्व दिएको देखिएको बताउँदै मन्त्री साउदले भने, ‘प्रधानमन्त्रीलाई एक औपचारिक कार्यक्रममा नै गार्ड अफ अनर प्रदान गरिएको छ । संयुक्त वक्तव्य प्रकाशित भएको छ र यसमा दुई देशबीचका आपसी हितका महत्वपूर्ण विषयलाई समेटिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटका क्रममा पनि उच्च महत्वका साथ आफ्ना कुरा राख्ने र नयाँ समझदारी निर्माण गर्ने काम भएकाले यो भ्रमणलाई पूर्णरूपमा सफल मान्नुपर्दछ ।’

चीन र नेपालका बीचमा परम्परागतरूपमा नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भन्दै मन्त्री साउदले अहिलेको प्राथमिकता भनेको आर्थिक पक्ष रहेको बताए । उनले नेपाल आर्थिकरूपमा बलियो बन्नका लागि चीनबाट कसरी लाभ लिने भन्ने विषय दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण र बलियो पक्ष हो भन्ने आफूलाई लाग्ने बताए ।

भ्रमणका क्रममा गरिएको कैलास मानसरोवरको भ्रमण सो ठाउँ हेर्नका लागि मात्र नभई नेपालको धार्मिक पर्यटन प्रवर्द्धनका लागि स्थलगत निरीक्षण भएको मन्त्री साउदको भनाइ छ । भारतसहित विश्वका लाखौँ हिन्दु पर्यटकलाई नेपाल हुँदै कैलाश मानसरोवरको भ्रमणको उचित वातावरण बनाउनका लागि सो ठाउँको स्थलगत अध्ययन अवलोकन गरिएको उनको भनाइ छ ।

यो क्षेत्रमा नेपालको बाटो भएर जान पाए धेरै सजिलो हुने विषय बारम्बार उठ्ने गरेका सन्दर्भमा नेपालका तर्फबाट कैलास मानसरोवर जान पाउने गरी सडक निर्माणको प्रबन्धका लागि त्यहाँ गएको उनले स्पष्ट पारे । मन्त्री साउदले हुम्लाको सिमकोटका अतिरिक्त बझाङको उरई र दार्चुलाको तिङ्करको बाटो भएर पनि सो क्षेत्रमा पुग्न सकिने गरी अध्ययन भइरहेकाले सोही स्थानमा नै पुगेर अध्ययन गरेको बताए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०८:३८
Weather Update