
म्याग्दी— धौलागिरि हिमाल आरोहण सुरु भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ ।
सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिविरदेखि चुचुरोसम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण सुरु भएको हो ।
शुक्रबार चार जना विदेशीसहित १३ जनाले धौलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका शेर्पा मिङमा शेर्पाले जानकारी दिए ।
रुसका एलिना पेकोवा, फ्रान्सका कलास्डेयर म्याकेन्जी, आइसल्याण्डका होस्कुडर होड्डी र ब्राजीलका मोसेस फियामोन्सिनीले आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरिको सफल आरोहण गरेको शेर्पाले बताए ।
सो टोलीमा रहेका निमा रिन्जी शेर्पा, तेन्जेन शेर्पा (लामा), मिङतेम्बा शेर्पा, पासाङ नुर्वु शेर्पा, पासाङ दावा शेर्पा, नाङबा शेर्पा, मिङमा नुरवु शेर्पा र पेम्बा दोर्ची शेर्पा पनि धौलागिरिको चुचुरोमा पुगेका छन् ।
विभिन्न ट्रेकिङ कम्पनीमार्फत चार समूहका १२ पुरुष र ११ महिला पर्वतारोहीले धौलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार धौलागिरि हिमाल आरोहणको अनुमति लिएका आरोहीबाट २७ लाख ४३ हजार पाँच सय १५ रोयल्टी (सलामी दस्तुर) प्राप्त भएको छ ।













