
काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा यसवर्ष औसत समयभन्दा ढिलो मनसुन बाहिरिने जनाएको छ ।
मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यो वर्ष केही ढिलो हुने महाशाखाले एक बुलेटिन जारी गर्दै भनेको छ ।
बुलेटिनमा भनिएको छ,‘नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ । हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएकाले आगामी तीन/चार दिनसम्म देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’
कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ । पहाडी भू–भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने सम्भावना रहेको छ ।














