काठमाडौं— भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ ।
काठमाडौंको बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यासँ लिक’ भएर आगलागीबाट घाइते भएका भण्डारीको स्वास्थ्यमा अहिले सुधार आएको हो । सांसद भण्डारीलाई ४ फागुनमा मुम्बई लगिएको थियो ।
बिहीबार दाजु मीनप्रसाद भण्डारीले जनाएअनुसार सांसद भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ । मीनप्रसाद भन्छन्,‘अनुहारको छाला राम्रो भइरहेको छ । बायाँ हातको पट्टी खोलिएको छ । ग्राफ्टिङ राम्रो भइरहेको छ । ज्वरो आएको छैन । आज (२३ चैत्र बिहीबार) ड्रेसिङ गरिएको थियो । डोनर क्षेत्र अझै भिजेको छ । तर सुधार राम्रो भइरहेको छ । सबै स्वास्थ्य प्यारामिटरहरू सामान्य छन् ।’
डा.भण्डारीलाई नेशनल बर्न सेन्टरका डा.सुनिल मनोहर केश्वानीले काउन्सिलिङ गरिरहेका छन् ।
आगलागीबाट सांसद भण्डारीकी आमा हरिकला गम्भीर घाइते भएकी थिइन् । हरिकलाको उपचारका क्रममा ४ फागुनमा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।