सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तासहित २ जना भ्रष्टाचारी ठहर
काठमाडौं— विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्ता सहित २ जनालाई भ्रष्टाचारी ठहर गरेको छ ।
विशेष अदालतका सदस्य यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारूको इजलासले गुप्तासहितइन्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गरेको हो । उनीहरूमाथि एक लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप थियो ।
दुवैजनाबाट एक लाख ४० हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । दुवैलाई ६/६ महिना कैद गर्ने फैसला भएको छ ।
इन्जिनियर साहलाई अख्तियारको टोलीले गत फागुनमा रंगेहात पक्राउ गरेको थियो । पछि मेयरले पनि घुस मागेको भेटिएपछि अख्तियारले गुप्तालाई पनि मुद्दा चलाएको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० १७:५८