News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल ल्हासाबाट छेन्दु पुगे, पाण्डा प्रजनन केन्द्र निरीक्षण गर्ने

छेन्दु/चीन— चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको छेन्दु आइपुगेका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु आइपुगेका हुन् ।

उनलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, विदेश मन्त्रालयको सिचुआन प्रान्तका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयको एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरे । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने  कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले आज साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन् ।

बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल बिहीबार कैलास मानसरोवरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौं फर्किने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १३:१७
Weather Update