News Griha :: न्यूजगृह
एमसीसीकी सीईओ एलिस अलब्राइट नेपाल आउँदै, प्रधानमन्त्रीदेखि शीर्ष नेतालाई भेट्ने

काठमाडौं— अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छिन् ।

आइतबार नेपाल आउन लागेकी एमसीसीकी सीईओ अलब्राइटले पाँच दिन काठमाडौंमा बिताउने कार्यक्रम रहेको बताइएको छ ।

नेपालमा एमसीसी परियोजना सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको छ ।

एमसीसीकी सीईओ एलिस परियोजना कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

भ्रमणका क्रममा एमसीसीकी सीईओ एलिसले नेपाल सरकारका उच्चस्तरीय नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

एलिसले पाँच दिने नेपाल बसाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारी र शीर्ष राजनीतिक नेतासँग भेतवार्ता गर्ने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १२:१५
Weather Update