News Griha :: न्यूजगृह
गाईघाट–दिक्तेल सडकको ठेक्का रद्द गर्ने उच्च अदालतको फैसला

काठमाडौं— सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल) सडक अन्तर्गत फोक्सिङटार–सिमपानी(२७किलोमिटर) सडक खण्डको कालोपत्रेको ठेक्का तोड्ने सडक आयोजनाको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको छ ।

देवनारायण पवन–मैनाचुली–खाम्पाचेजेभीले काम अलपत्र परेपछि गाईघाट–दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले २०७९ पुस ८ गते ठेक्का तोड्ने निर्णय गरेको थियो । उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र गोकर्ण डाँगीको संयुक्त इजलासले बुधबार खारेज गर्ने फैसला सुनाएको हो ।

यसले अर्को टेन्डर खुलाउने बाटो खुलेको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए । अर्को टेन्डर गरेर कालोपत्रे गर्ने क्रममा लाग्ने खर्च निर्माण व्यवसायीले बेहोर्नुपर्ने भएकाले निर्माण कम्पनीले आयोजनाको ठेक्का तोड्ने निर्णयविरुद्ध २०७९ पुस १९ गते उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

मुद्दा दायरपछि उच्च अदालतले अन्तिम फैसला नभएसम्मका लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्नु भनी २०७९ माघ ४ गते अन्तरिम आदेश दिएको थियो । तर अन्तिम फैसला भने आयोजनाले गरेको निर्णयको पक्षमा भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०९:५८
Weather Update