News Griha :: न्यूजगृह
म्याग्दीको महभीर गाउँ पहिरोको जोखिममा
पहिरोले पुर्‍याएको क्षतिको बिहीबार निरीक्षण गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुग्जाली । तस्बिर : सन्तोष गौतम/रासस 

म्याग्दी— म्याग्दीको मालिका गाउँपालिका– ४ महभीरको  बस्ती पहिरोको जोखिममा परेको छ ।

बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किएका छन् भने खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडासदस्यगर्वे गुरुङले काले कामी र तुलबहादुुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको बताए । 

'पहाडको फेदीबाट सुरु भएको दुई वटा पहिरो फेदीमा रहेको रितुुङखोला सम्म पुगेको छ,' उनले भने, 'ट्याङ्की, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।'

त्यस्तै, पहिरोले फूलबारी–महमहभीर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बिचमा ठूलाठूला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ । दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ । 

गत बुधबार राति आएको पहिरोले तुुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । तुलबहादुुरको ११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेको छ । सो ठाउँमा गत हिउँदमा पनि सुक्खा पहिरो खसेर एउटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुरजुुग्जालीले निरीक्षण गरेका छन् । 

'पहिरोबाट घरवास गुमाएकालाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुुन्छ,' निरीक्षणपछि उनले भने, 'घर पुननिर्माणका लागि तिनै तहका सरकारको साझेदारीमा रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोहीअनुसार सहयोग गर्छौँ ।'

तत्काल खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुुुुन नदिने र दीर्घकालीन रुपमा पहिरो नियन्त्रण तथा बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने मन्त्री जुुग्जालीले बताए ।  

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०९:२६
Weather Update