
कञ्चनपुर— वैदेशिक रोजगारीबाट फर्केका शुक्लाफाँटा नगरपालिका–१२कालागौडीका मोहन राना केरा खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।
तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उनले केरा खेती गर्दै आएका छन् । रानाले वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्मको केरा बिक्री गर्छन् । जसमध्ये १० देखि १६ लाखसम्म आम्दानी हुने गरेको छ ।
केरा खेती गोडमेल गर्ने मजदुर, रासायनिक मल, सिँचाइमा गरी बाँकी रकम खर्च हुने गरेको छ । रानाले केरा खेतीका लागि ६ जनालाई रोजगारी दिएका छन् । उनले छ बिघा जग्गामा जी नौ उन्नत जातको केरा खेती गरेका छन् ।
छ बिघा जग्गामध्ये डेढ बिघा जग्गा मात्रै रानाको हो । बाँकी साढे चार बिघा जग्गा रानाले प्रति बिघा वार्षिक ८० हजार तिर्ने गरी भाडामा लिएका हुन् । 'चार कट्ठा जग्गामा पहिलो वर्ष केरा लगाए,' उनले भने, 'दाजुले घरमै केही केराका बोट रोप्नुभएको थियो, त्यही बोट बारीमा व्यवस्थित तरिकाले लगाएर एक लाख ८० हजार जति आम्दानी भयो ।'