News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै, भोलि स्वदेश फर्किने

मानसरोवर—  चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार छेन्दु जाने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट बिहानको उडानमार्फत छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम छ । उनी स्थानीय समयअनुसार दिउँसो २:३० बजे छेन्दु पुग्नेछन् ।

छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन् ।

बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल बिहीबार कैलास मानसरोवरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यसपछि उनले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए ।

प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौं फर्कने कार्यक्रम छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०६:४४
Weather Update