
काठमाडौं— नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा भएको तेह्रौं संस्करणको इन्डो प्यासिफिक क्षेत्रका सेना प्रमुखहरूको सम्मेलन (आईपीएसीसी) मा सहभागी भएर प्रधानसेनापति शर्मा बिहीबार स्वदेश फर्किएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले स्वागत गरे । सम्मेलनका लागि उनी असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
असोज ८ देखि १० गतेसम्म ‘शान्तिका लागि सँगै : इन्डो प्यासिफिक क्षेत्रमा दिगो शान्ति र स्थिरता’ भन्ने नाराका साथ आयोजित उक्त सम्मेलनमा ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारीहरूको सहभागिता रहेको थियो ।
नयाँ दिल्लीमा रहँदा प्रधानसेनापति शर्माले अष्ट्रेलिया, बंगलादेश, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत र भारतका समकक्षीहरूका साथै भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) सँग बेग्लाबेग्लै भेटघाट गरेका थिए ।
प्रधानसेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेज (एनडीसी) को पनि भ्रमण गरे। त्यस अवसरमा उनले उक्त कलेजमा सञ्चालन भइरहेको एनडीसी–६३ मा सहभागी शिक्षार्थी र प्रशिक्षकहरूसमक्ष राष्ट्र निर्माण र नेपालको परराष्ट्र नीति सुदृढीकरणमा नेपाली सेनाको योगदान विषयमा प्रवचन दिएका थिए ।

हाल उक्त कलेजमा नेपालका तीन जना महासेनानीहरू तालिमरत छन् भने प्रधानसेनापति शर्माले समेत विगतमा सोही कलेजबाट एनडीसी तालिम लिएका थिए ।
प्रधानसेनापतिसँगै हिन्द-प्रशान्त क्षेत्रका सेनाको ४७ औं व्यवस्थापन सेमिनार (आईपीएएमस) तथा नवौं वरिष्ठ सूचीकृत नेतृत्व फोरम (एसईएलएफ) मा सहभागी हुन गएका रथी, अधिकृत, सुवेदार, मेजर पनि स्वदेश फर्किएका छन् ।
भ्रमणका क्रममा विभिन्न मित्रराष्ट्रहरूका समकक्षीलगायतका पदाधिकारीहरूसँगको अन्तरक्रियाबाट मानवीय सुरक्षालगायतका साझा चासोका विषयहरूमा अनुभवहरूको आदानप्रदान गर्ने अवसर प्राप्त भएको नेपाली सेनाले जनाएको छ । साथै सम्बद्ध देशहरूसँगको नेपालको सम्बन्ध थप सुमधुर बनाउन मद्दत पुगेको विश्वास पनि सेनाले लिएको छ ।













