
खोटाङ—रावाबेँसी गाउँपालिका– ४ डुम्रेधारापानीमा जीप चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ ।
३३ वर्षीय जीप चालक आचार्यको शव बिहीबार ऐसेलुखर्क गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट नजिकै फेला परेको हो ।
चालकको शव भेटिएको ठाउँको प्रकृति हेर्दा शङ्कास्पद अवस्था देखिएको वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिए ।

'आचार्यको शव वडा कार्यालय जाने बाटोको डिलमुनी खसेर घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुईवटा काठको मुढोले किचेको अवस्थामा फेला परेको छ,' उनले भने, 'आचार्यको साथमा मोबाइल र बेल्टमा बाँधिएको गाडीको चाबीसमेत भेटिएको छ । यस विषयमा गहिरो अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ ।'
बुधबार बेलुकाको खाना खाएर कोठा जानेक्रममा डिलमा राखिएको काठको मुढोसँगै खसेर आचार्यको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक हरि बरालले बताए ।
'मृतकका आफन्त घटनास्थलमा आइपुगेका छैनन् । उनीहरू आइपुगेपछि मात्रै उनको शव परीक्षण गर्ने कुरा भएको छ,' उनले भने, 'घटनाबारे प्रहरीले गर्ने अनुसन्धान भइरहेको छ । अहिले नै केही भन्न सकिने अवस्था छैन ।'













