News Griha :: न्यूजगृह
उज्बेकिस्तानको विमानस्थल नजिकैकाे गोदाममा विस्फोट

काठमाडौं— उज्बेकिस्तानको राजधानी तासकन्दस्थित विमानस्थल नजिकैको गोदाममा गएराति चट्याङका कारण आगो लागेपछि विस्फोट भएको छ ।

विस्फोटमा परी एक जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएको मध्य एसियाली मुलुक उज्बेकिस्तानका अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । ‘विस्फोटमा परी १७ वर्षीय एक किशोरको मृत्यु भएको छ,’उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले टेलिग्राममा भनेको छ ।

मन्त्रालयका अनुसार उक्त घटनामा थप १६२ जना घाइते भएका छन् । आपतकालीन व्यवस्था मन्त्रालयले शक्तिशाली चट्याङका कारण विमानस्थल क्षेत्रको गोदाममा ‘आगो लागेपछि विस्फोट भएको’ जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये १३८ जना सामान्य घाइते भएका छन् भने अन्य २४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडिओमा आगोको ज्वाला र धुवाँको मुस्लो रातको आकाशमा माथिसम्म पुगेको देखिएको छ । विस्फोटबाट आसपासका केही घरका झ्यालहरू फुटेका थिए भने भित्री भागमा क्षति पुगेको थियो । एजेन्सी

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १७:३८
Weather Update