
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् ।
सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए ।
जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म गएका थिए ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए ।














