News Griha :: न्यूजगृह
नेपालद्वारा एलडीसीज समन्वय ब्युरोको अध्यक्षता ग्रहण

काठमाडौं— नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्युरो (एलडीसी) को अध्यक्षता ग्रहण गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो ।

हस्तान्तरण समारोहको अध्यक्षता संयुक्त राष्ट्रसंघका लागि नेपालको नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राईले गर्नुभएको नियोगले जनाएको छ । सो अवसरमा राजदूत राईले महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनावले खाद्य, ऊर्जा र अल्पविकसित राष्ट्रहरूमा देखिएको आर्थिक संकटका कारण उत्पन्न भएको बहुसंकटका बीचमा समूहको सफलतापूर्वक नेतृत्व गरेकोमा मलावीको प्रशंसा गरे । 

उनले एलडीसी सदस्यहरू, संयुक्त राष्ट्रसंघीय प्रणाली र विकास साझेदारहरूसँग एकताको भावनामा काम गर्ने नेपालको प्रतिबद्धतालाई एलडीसीजको सामूहिक हितको रक्षा र प्रवर्द्धन गर्ने उल्लेख गर्नुभएको नियोगले आज विज्ञप्तिमार्फत जनाएको छ । 

एलडीसी अध्यक्षका हैसियतमा राजदूत राईले दोहा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन आफूहरूको उच्च प्राथमिकतामा रहने बताए । साथै उनले संयुक्त राष्ट्रसंघका सबै सान्दर्भिक प्रक्रिया र नतिजामा दोहा कार्ययोजनाको मूलप्रवाहीकरणको महत्वलाई पनि जोड दिए । 

राजदूत राईले गरिबी न्यूनीकरण र दिगो विकास, एलडिसीबाट स्तरोन्नति हुने देशका लागि अन्तर्राष्ट्रिय सहयोगका उपाय प्राप्त गर्न, जलवायु परिवर्तन र प्रकोपसँग लचिलोपन निर्माण गर्न, जलवायु वित्तपोषण, व्यापार र लगानीका अवसर अभिवृद्धि गर्न र लैंगिक तथा सामाजिक असमानतालाई सम्बोधन गर्न नेपालको प्रतिबद्धता व्यक्त गरे । 

उनले आधिकारिक विकास सहायता, ऋण राहत र प्रविधि हस्तान्तरणलगायत बलियो अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न एलडीसी समूहको एकता र ऐक्यबद्धतामा जोड दिए । 

लोकतान्त्रिक विश्वव्यापी शासन प्रणालीको आवश्यकतामा पनि जोड दिँदै राजदूत राईले विश्वव्यापी निर्णय प्रक्रियामा एलडिसीको आवाज र प्रतिनिधित्व हुने अपेक्षा व्यक्त गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा उच्च प्रतिनिधि रबाब फातिमाले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेपाललाई बधाई दिँदै एलडीसी समूह र यसको समन्वय ब्यूरोलाई आफ्नो कार्यालयबाट पूर्ण सहयोग रहने आश्वासन दिए । 

समारोहमा निवर्तमान अध्यक्ष मलावीका स्थायी प्रतिनिधि एग्नेस चिम्बिरी–मोलान्डे, उपमहासचिव फातिमा, र अतिकम विकसित देशहरू, भूपरिवेष्ठित विकासोन्मुख मुलुक र साना टापु विकासशील राज्यहरूका लागि संयुक्त राष्ट्रका उच्च प्रतिनिधिको उपस्थिति थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १७:५५
Weather Update