अन्तिम संस्कार गर्न लागिएको शव प्रहरी नियन्त्रणमा
काठमाडौं— सर्लाहीको रामनगरमा बुधबार दिउँसो अन्तिम संस्कारका लागि तयारी गर्दै गरेको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामनगर गाउँपालिका–१ खैर्वा बस्ने सुनिल साहकी श्रीमती वर्ष २१ की मनिषाको शव जलाउन लागेको अवस्थामा प्रहरीले घाटबाट नियन्त्रणमा लिएको हो । अनुसन्धानका लागि प्रहरीले मृतक महिलाका श्रीमान, ससुरा र देवरलाई पनि नियन्त्रणमा लिएको छ ।
महिलाको शंकास्पद मृत्युको सूचना पाए लगतै नजिकको मनुष्मारा खोलामा जलाउन ठिक्क परेको अवस्थामा शव नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार महिलाको घाँटीमा निलडाम छ ।
महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ । अनुसन्धानका लागि प्रहरीले श्रीमान सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८० २०:०३













