
काठमाडौं— नेपालमा युरिया मल कारखाना खोल्नेसम्बन्धी सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र मलेसियन कम्पनी बीच सम्झौता भएको छ ।
तनहुँको आँबुखैरेनीमा स्थापना गर्न प्रस्ताव गरिएको विद्युतीय ऊर्जाबाट चल्ने यस्तो कारखानाको विस्तृत सम्भाव्यता अध्ययनका लागि मलेसियाको रिन्कोलास्डन बीएचडी कम्पनीसँग समझदारी भएको बोर्डले जनाएको छ ।
विद्युतीय ऊर्जायुक्त प्रविधिबाट युरिया मल उत्पादन गर्न सकिने बारे विस्तृत अध्ययन गरिने बोर्डले जनाएको छ ।
बुधबार एक कार्यक्रमका बीच बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट र रिन्कोलास्डन बीएचडीका म्यानेजिङ डाइरेक्टर बोउम्हीदी अब्डेलालीले सझदारी पत्रमा हस्ताक्षर गरे ।
लगानीको बोर्डको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन गर्ने कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने सहमति बुधबार भएको जनाएको हो । सम्झौताअनुसार रिन्कोलास्डनले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ ।
आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले इलेक्ट्रोलाइसिस प्रविधिको प्रयोग गरी ग्रीन एमोनिया र क्याल्सियम एमोनियम नाइट्राइट मल तयार पार्ने गरी सम्भाव्यता अध्ययन गर्न लागिएको छ । करिब २६ करोड अमेरिकी डलर अनुमानित लागत रहेको यस प्रस्तावित परियोजनाबाट वार्षिक ९५ हजार छ सय मेट्रिक टन ग्रीन एमोनिया र दुई लाख ८६ हजार नौ सय ७५ मेट्रिक टन क्याल्सियम एमोनियम नाइट्राइट मल उत्पादन हुने प्रस्ताव गरिएको छ ।
सार्वजनिक–निजी साझेदारी ऐन तथा नियमावलीको व्यवस्थाअनुसार रिन्कोलास्डनले ऊर्जाको रूपमा विद्युत् शक्तिको उपयोग गरी वातावरणमैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्नको लागि २०७९ पुस २४ गते लगानी बोर्डमा प्रस्ताव पेश गरेको थियो ।
उक्त प्रस्तावका आधारमा लगानी बोर्डको २०७९ चैत ३० गते बसेको ५३औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो भने रिन्कोलास्डनसँग हुने समझदारीपत्र को मस्यौदा गत भदौ ८ गते बसेको लगानी बोर्डको ५५औँ बैठकबाट स्वीकृत भएको थियो ।













