News Griha :: न्यूजगृह
शिक्षक आन्दोलनलाई सघाइरहेका रमेश बाबु भट्टराई

काठमाडौं— काठमाडौंमा शिक्षकको आन्दोलन जारी छ । आन्दोलन कहिलेसम्म हुन्छ भन्न सकिने अवस्था छैन । आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलाएको छैन । त्यसैले शिक्षकले भोकप्यास नभनी आन्दोलन गरिरहेका छन् काठमाडौंको माइतीघर—नयाँ बानेश्वर सडकमा  ।

बुधबार (१० असोज) शिक्षक आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्‍यो । प्रहरीको हस्तक्षेपबाट केही शिक्षक घाइते भएका छन् । शिक्षक आन्दोलनका घाइते हुनेमा पर्साकी सन्जिता कुमारी खत्री र पर्वतकी शर्मिला पुरी छन् ।

उनीहरूलाई स्थायी शिक्षक हकहित मञ्चका केन्द्रीय अध्यक्ष तथा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबु भट्टराईले आर्थिक सहयोग गरेका छन् । भट्टराईले खत्रीलाई २० हजार र पुरीलाई ४ हजार रुपैयाँ सहयोग गरे ।

भट्टराईले शिक्षक आन्दोलनलाई सहयोग गर्दै आएका छन् । शिक्षककाे भाेकप्यास मेटाउन पानी वितरण, आर्थिक सहयोग गरेका छन् । उनले आन्दोलनका क्रममा सडकमा भएको फोहोर संकलन तथा व्यवस्थापन पनि गरेको बताए ।

उनले भने, ‘शिक्षक आन्दोलनका क्रममा माइतीघरदेखि नयाँ बानेश्वर सडकमा भएका फोहोर संकलन र व्यवस्थापन गर्दै आएको छु ।’

उनले शिक्षकले पढाउने मात्र नभर समाज सेवामा पनि सक्रिय हुन्छन् भन्ने सन्देश दिन खोजेको बताए । ‘शिक्षकले पढाउने मात्र होइन । समाज सेवामा पनि सक्रिय हुनुपर्छ । यो नेता तथा कर्मचारीलाई पाठ पनि हो,’ भट्टराईले भने ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १७:०७
Weather Update