
काठमाडौं— साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै विगत ८ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ईःको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा बुधबार जारी विज्ञप्तिमा सो सम्बन्धमा आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले मंगलबार स्थलगत अनुगमन गरेको उल्लेख गर्दै धर्नामा रहेकाको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न हुन भनेको हो ।
अनुगमनको क्रममा आयोगको टोलीले धर्नाको नेतृत्व गरिरहेका ईः र उनका साथीहरू एवम् धर्नास्थल वरपरका व्यापारीहरूसँग छलफल गरी जानकारी लिएको विज्ञप्तिमा उल्लेख छ ।
रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ईः को दुवै खुट्टा अस्वभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधी सेवन गरिरहेकोलगायतका जानकारीहरू अनुगमनबाट पाइएको छ । प्रदर्शनकारीले महानगर प्रमुख बालेन साहले यस विषयलाई गम्भीर रूपमा नलिएको बताएका छन् ।
ईःले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो ।
नेपालको संविधानको धारा १७ (च) मा नेपालको कुनै पनि भूभागमा पेसा, रोजगारी गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको उल्लेख गरेको छ । संविधानको धारा ३३ मा रोजगारीको हकको उल्लेख गरिएको छ ।













