
सुर्खेत— कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले कानुन बनाउन ढिलाइ हुँदा जनताले संघीयताको अनुभूति गर्न नपाएको बताएका छन् । बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको पनि बताए ।
उनले संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले निजामती र प्रहरीसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारी गरिरहेको बताए ।
कार्यवाहक प्रधानमन्त्री खड्काले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरी काम गरिरहेको बताए । उनले केही दिनभित्रै सुशासनसम्बन्धी कार्यक्रम घोषणा गर्न लागिएको पनि जानकारी दिए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठन्धन दलको सहमतिमै चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा कार्यान्वयनका लागि सहमति जनाएको बताए ।
‘चीनसँग भएका सहमति र सम्झौता देश हितमा छन्’, उनले भने, ‘गठबन्धनकै सहमतिमै प्रधानमन्त्रीले सम्झौता गर्नुभएको हो ।’