News Griha :: न्यूजगृह
विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

राजस्व छलीको आशङ्कामा नेपालका खर्बपति व्यापारी चौधरीको सहायक कम्पनी सीजी कर्प ग्लोबलको जयपुर, दौसा र सिकरलगायतका ५ स्थानमा मंगलबार आयकर विभागले छापा मारेको हो । 

गुवाहाटीस्थित आयकर विभागको टोलीले चौधरीको कम्पनीमा छापा मारेर कागजात जफत गरेको स्थानीय टेलिभिजन सच बेधड़कले दाबी गरेको छ । सो टेलिभिजनले सीजी कर्पको कार्यालयमा छापा हानेको फुटेजसमेत सार्वजनिक गरेको छ । उसले विनोद चौधरीलाई ‘राजस्थानी मूलका’ एक मात्र नेपाली अर्बपतिसमेत भनेको छ । 

चौधरीको कम्पनी सीजी कर्प ग्लोबल र समूहका अन्य कम्पनीले पर्याप्त आयकर नतिरेको सूचनाका आधारमा आयकर विभागले कारबाही शुरु गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

सीजी ग्रुप ग्लोबलको सहायक कम्पनी सीजी फुड इन्डिया प्राइभेट लिमिटेड राजस्थानको अजमेर जिल्लाको रुपनगढमा स्थापना भइरहेको ग्रीनटेक मेगा फुड पार्कको प्रमुख संस्थापक हो ।    

उपलब्ध कागजातको जाँचका आधारमा आयकर अधिकारीले ग्रीनटेक मेगा फुड पार्कका अन्य संस्थापकको कम्पनीमा पनि छापा मारिएको छ ।

चौधरीको सीजी कर्पसँगै अन्य भारतीय कम्पनीमाथि पनि आयकर विभागले छापा हानेको छ ।  

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १२:४७
Weather Update