
काठमाडौं— इराकको उत्तरी निनेभेह प्रान्तमा एक विवाह समारोहमा आगलागी हुँदा ११३ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।
स्थानीय अधिकारी र आपतकालीन सेवाका अनुसार आागलागीमा परी ठूलो मानवीय क्षति भएको छ । निनेभेहका डेपुटी गभर्नर हसन अल–अल्लाकले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘अहिलेसम्म ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।’
स्थानीय समयअनुसार मंगलबार राति करिब पौने ११ बजे आगलागी भएको बताइएको छ । घटनाबाट क्षतिको विवरण संकलन भइसकेको छैन ।
इराकको आधिकारिक आइएनए समाचार एजेन्सीले सो प्रान्तको हम्दानियाह जिल्लाको एउटा कार्यक्रम हलमा भइरहेको विवाह समारोहमा आगलागी हुँदा १५० जना घाइते भएको बताएको थियो ।
हम्दानियाह राजधानी बगदादको उत्तरपश्चिममा लगभग ४०० किलोमिटर (करिब २५० माईल) उत्तरी शहर मोसुलको बाहिर रहेको छ ।
इराकको नागरिक रक्षाको प्रारम्भिक रिपोर्टहरूअनुसार उत्सवको समयमा प्रयोग गरिएको आतिशबाजीका कारण लागलागी भएको हुनसक्छ ।
‘प्रारम्भिक जानकारीअनुसार विवाहको समयमा आतिशबाजीको प्रयोग भएको देखिएको छ, जसले हलमा आगो लाग्यो,’ नागरिक रक्षा अधिकारीहरूले बुधबार बिहान जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।एजेन्सी













