News Griha :: न्यूजगृह
सत्ता गठबन्धनले सभामुखविरुद्ध महाभियोग ल्याउन सक्छ : केपी ओली

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन पनि सक्ने बताएका छन् ।

बिहीबार एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले वर्तमान गठबन्धन र सरकारले जे पनि गर्न सक्ने भन्दै कुनै लाजसरम नभएको टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री ओलीले निवर्तमान राष्ट्रपतिलाई महाभियोग लगाउन धेरैपटक प्रयास गरेको स्मरण समेत गरे । उनले भने, 'यिनीहरूले राष्ट्रपतिज्यूलाई महाभियोग लगाउन धेरैपल्ट खोजेका थिए, तर पार लागेन । अहिलेका सभामुखलाई पनि कुन दिन महाभियोग लगाउन बेर लाउँदैनन् ।'

बहुमत नै गठबन्धनमा रहेकाले कुनै लाज शरम नमानी जेसुकै पनि गर्न सक्ने उनले बताए । ओलीले विगतमा प्रधानन्यायाशीहरुमाथि पनि यही गठबन्धनले महाभियोग लगाएको बताएका छन् । 'यिनीहरूले के गर्न हुन्छ, के हुँदैन भन्ने कुनै सीमा छैन', ओलीले भने । 

उनले गठबन्धनका नाममा जथाभाबी गर्न नदिने भन्दै एमाले राति पानी परेर उम्रेका टुसा नभएको बताए ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १७:१२
Weather Update