News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल ल्हासामा, पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने

ल्हासा— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । 

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन् ।

उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवम् चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे ।

प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ ।

उनले आजै यहाँको चिनियाँ कम्युनिस्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी आज ल्हासामै बस्नेछन् ।

उनकाे साथमा परराष्ट्रमन्त्री एनपी साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवम् यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन् ।

यसअघि प्रधानमन्त्री दाहाल बेइजिङबाट छिङछोङ सहर गएका थिए । छिङछोङमा रहँदा उनले चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामकारे जानकारी लिएका थिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:४१
Weather Update