News Griha :: न्यूजगृह
‘शिक्षक कर्मचारीले संविधान विपरीतका माग राख्न हुँदैन’

काठमाडौं— राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले शिक्षक कर्मचारीले व्यवस्थामाथि प्रश्न उठ्ने गरी संविधान विपरीतका माग राख्न नहुने बताएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिहेका शिक्षक कर्मचारीलाई दाहालले सो कुरा भनेका हुन् । 

मंगलबार राष्ट्रिय सभाको दिगो विकास र सुशासन समितिले आयोजना गरेको छलफलमा दाहालले विधेयक तर्जुमा गर्दा सरोकार राख्ने निकायसँग छलफल नगरिएकाले स्थिति चुनौतीपूर्ण बनेको भन्दै विधेयक तर्जुमा गर्ने प्रक्रियाप्रति प्रश्न गरे ।

समितिका सभापति प्रकाश पन्तले संसद्मा दर्ता भएको विधयेक सम्बन्धमा आफूलाई लागेको विषयमा अनलाइन वा पत्राचारकै माध्यमले सुझाव दिन अपिल गरे  ।

उनले भने,‘संसद् सचिवालयले यसरी विभिन्न माध्यमबाट आएको सुझावलाई समितिमा छलफलका लागि प्रस्तुत गर्ने छ ।’

सभापति पन्तले विधेयक सार्वजनिक भएपछि व्यापक असन्तुष्टि देखिएकोमा समितिले शिक्षक, शिक्षाविद्, अभिभावक, विधेयक तर्जुमा संलग्न व्यक्ति वा निकायलगायतसँग छलफल गरेर आएको सुझावलाई प्रतिवेदन बनाएर छलफलमा लैजान प्रयास गर्ने बताए ।

छलफलमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गणेशराज मोक्तानले शिक्षा कार्यालयले प्रधानाध्यापक छनोट गर्ने व्यवस्थाप्रति आपत्ति जनाए ।

नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कुश जोशीले विधेयक तर्जुमा गर्दा छलफलै नगरिएकाले अभिभावकले अपनत्व लिने गरी विधेयक नआएको गुनासो गरे ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०९:४४
Weather Update