News Griha :: न्यूजगृह
स्वास्थ्यकर्मीहरूलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर साहको आग्रह

काठमाडौं—  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्यकर्मीहरूलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार दिव्य शताब्दी पुरुष डा. गौरीशङ्करलाल दासलाई नागरिक अभिनन्दन गर्दै उनले डा. दासलाई झैं सरकारले अन्य चिकित्सकहरूलाई पनि सुरक्षाको प्रत्याभूति दिलाइ देशमै रहेर सय वर्ष बिताउन सक्ने वातावरण सिर्जना गर्नु पर्ने बताएका हुन् । 

उनले भने, ‘अहिलेको स्थितिमा काठमाडौँ महानगरपालिका मात्र नभएर देशभर नै उहाँको विशेषता र उहाँले दिन सक्ने प्रेरणा मूल समारोह समितिले वर्षभर गर्ने कार्यक्रममा सूचना प्रवाह गर्नसके नयाँ पुस्तालाई निकै प्रेरणा मिल्ने छ । विशेष गरी डाक्टरसाप, नर्स, स्वास्थ्यकर्मीहरू, अहिलेको देशको स्थितिमा देशमै रहेर सय बिताउन सक्ने प्रेरणा उहाँबाट जाओस् ।’

मेयर साहले स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न देशमा कठिनाइ भइरहेको भन्दै एउटा व्यक्तिले आफ्नो पेशा इमान्दारीसाथ गर्ने हो भने कुनै तन्त्रले केही फरक नपर्ने बताए ।

उनले भने, ‘अहिलेको स्थितिमा जुन स्वास्थ्यकर्मीहरू बाहिरिँदै जाँदै हुनुहुन्छ, उहाँहरूको रक्षा र सुरक्षा गर्न कठिन परेको अवस्थामा छ, उहाँजस्तै देशमै बसेर सेवा गर्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरूलाई सुरक्षाको व्यवस्था होस् । कार्यक्रमको शुरुमै के भनियो भन्दा पाँचवटा राजा, ३५ प्रधानमन्त्री भनियो । एउटा व्यक्तिले आफ्नो पेशा इमानदारीपूर्वक गर्ने हो भने कुनै पनि तन्त्रले केही फरक नपर्ने रहेछ भन्ने उदाहरण हो ।’ 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १८:४९
Weather Update