News Griha :: न्यूजगृह
मानव बेचबिखनका आरोपित हस्त गौतम पुर्पक्षका लागि थुनामा

काठमाडौं— अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमलाई पुर्पक्षको लागि अदालतले थुनामा पठाएको छ । 

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाले हस्त गौतम र अर्का प्रतिवादी कमल तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको पठाएको सरकारी वकिल कार्यालय काठमाडौंका सहायक न्यायाधिवक्ता चन्द्र सञ्जेलले जानकारी दिए । 

उनीहरूविरुद्ध  मानव बेचबिखन ओसारपसार कसुर, सङ्गठित अपराध, ठगी र एकीकृत कसुरमा चार वटा मुद्दा दायर भएको थियो । त्यसमा पुर्पक्षका लागि दुवै जना केन्द्रीय कारागार जगन्नाथ देवल चलान भएका हुन् ।

पूर्वी रूकुम घर भई अमेरिकाको टेक्सास बस्दै आएका हस्त सहितको समूहमाथि मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। हस्‍त गत भदौ २० गते पक्राउ परेका थिए । उनीविरूद्ध ब्युरोमा ३५ जनाले जाहेरी दिएका छन्। ३० जना पीडित काठमाडौं र पाँच जना दाङमा छन् ।

गौतम सहितको समूहले दुई सय जना बढी नेपाली नागरिकसँग पैसा लिएर अमेरिका पठाइसकेको बयानमा बताएका थिए। कतिपयलाई भने उनले अलपत्र पारेका थिए।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  २०:१८
Weather Update