News Griha :: न्यूजगृह
पोखराको मणिपाल अस्पतालमा डाक्टरमाथि हातपात, एक जना पक्राउ

काठमाडौं— पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेका छन् ।

अस्पतालमा उपचार गर्दागर्दै लमजुङ सुन्दरबजार नगरपालिका– ७ का २७ वर्षीय बिरामी सुकमाया दुराको सोमबार दिउँसो मृत्यु  भएपछि उनका आफन्तले डाक्टरमाथि हातपात गरेको प्रहरीले जनाएको छ । 

मृगौला फेल भएकी दुरा आइतबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । मुटुको समेत समस्या रहेको उनलाई आकस्मिक कक्षबाट आईसीयुमा लगेर भर्ना गरिएको अस्पतालले जनाएको छ । 

उपचार गर्दागर्दै बिरामीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड र आक्रमण प्रयास गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ । डा. अनिल शाहमाथि हातपात भएको प्रहरीले जनाएको छ । हातपातमा संलग्न भएको आरोपमा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।

अहिले पनि अस्पताल तनावग्रस्त नै छ । बिरामीका आफन्तबीच अहिले वार्ता भइरहेको भए पनि कुनै निष्कर्ष निस्किएको छैन । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:२०
Weather Update