
धादिङ— प्रेमिकाको हत्या गरेको आरोपमा धादिङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका ३५ वर्षीय अरुणकुमार मिझार छन् ।
मोरङको विराटनगर महानगरपालिका–५ की ३२ वर्षीया ललिताकुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई ६ वर्षपछि गत शुक्रबार सप्तरीको वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ गरिएको धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।
प्रहरीका अनुसार उनी मलेसिया, दुबई, भारतलगायतका मुलुकमा लुकिछिपी बस्दै आएका थिए । एसपी मिश्रले भने, 'नेपाल आएको समयमा प्रतिवादी मिझारलाई बागमती प्रदेश प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरिएको हो ।'
धादिङको धुनीबेँसी नगरपालिका–९ टायलघरस्थित पृथ्वी राजमार्ग अधेरीखोलामा २०७४ साल असोज १२ गते साँझ बेवारिसे दुर्गन्धित अवस्थामा ललिताको शव फेला परेको थियो ।
एसपी मिश्रका अनुसार मृतक ललिता पेसाले स्टाफ नर्स थिइन् । मृतकको मोबाइल तथा प्राविधिक अनुसन्धानपछि मृतक ललिता र प्रतिवादी मिझार प्रेम सम्बन्धमा थिए ।
'उनीहरूबीचको सम्बन्धबाट मृतक ललिता गर्भवती रहेको खुलेको छ । उनीहरूबीच असमझदारीका कारण मिझारले हत्या गरेको पुष्टि भएको हो । अहिले मिझारलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ,' एसपी मिश्रले भने ।