News Griha :: न्यूजगृह
विकास प्रयासले अपेक्षित लक्ष्य हासिल गर्न सकेन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास प्रयासले अपेक्षित लक्ष्य हासिल गर्न नसकेको बताएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औँ बैठकमा उनले हालसालै राष्ट्रिय योजना आयोगले पन्ध्रौँ योजनाको मध्यावधि मूल्याङ्कन अनुसार केही क्षेत्रमा प्रगति भएको देखिए पनि धेरै क्षेत्रमा सुधार आवश्यक रहेको तथ्य उजागर भएको बताए । 

प्रधानमन्त्री प्रचण्डले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिएका छन् । उनले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्न जोड दिए । 

'पुँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकास निर्माण पछाडि पार्ने मात्र नभई त्यसबाट अर्थतन्त्रमा बहुआयामिक असर पर्दछ । तसर्थ संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिन आवश्यक छ,' उनले भने । 

अन्तरतह समन्वय गर्ने विषयमा आफूले पहल गर्ने जनाउँदै उनले बजेट कार्यान्वयनको सम्बन्धमा मन्त्रालय र प्रदेश सरकारसँग समेत छलफल गरी अर्थ मन्त्रालयले प्रगति राम्रा भएका विकास आयोजनामा साधनस्रोतको अभाव नहुने व्यवस्था मिलाइने बताए । 

सरकार आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा रहेको बताउँदै उनले विगतभन्दा नयाँ र गुणात्मक प्रकृतिको योजना निर्माण र बजेट व्यवस्थाका लागि आवश्यक तयारी गर्नसमेत निर्देशन दिए । केही आयोजनामा राम्रो प्रगति भए पनि वार्षिक बजेट र आयोजनाको कार्यान्वयनमा चालु आवको प्रथम छ महिनामा आशातीत लक्ष्य हासिल हुन नसकेको देखिएको उल्लेख गर्दै उनले यो अत्यन्त संवेदनशील विषय रहेको बताए ।

'हेर्दा खासै ठूलो समस्या छ भन्ने पनि देखिन्न । तर, बजेट, योजना र कार्यक्रम ठीक ढङ्गले कार्यान्वयन हुन पनि सकेका छैनन्,' उनले भने, 'खास समस्या के–के हुन्, तिनको पहिचान गरी समाधानका प्रभावकारी उपाय निर्क्योल गर्ने कार्य पनि अहिले नै गर्नुपर्दछ ।' 

उनले मन्त्रीहरूले यसमा विशेष पहलकदमी लिएर ठोस कार्य गर्नुहुनेछ भन्ने आफ्नो अपेक्षा रहेको बताए । 'यहाँ छलफल भएबाहेक पनि अन्तरमन्त्रालयगत समन्वयका समस्या छन् भने तिनलाई तुरुन्तै समाधान गर्नुहुनेछ,' उनले भने । 

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आव २०७९/८० को अर्धवार्षिक समीक्षासहितको प्रस्तुति राखेका थिए । 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १६:०१
Weather Update