News Griha :: न्यूजगृह
चितवनमा बाँझो जमिन खेतीयोग्य बनाउन सुरु

चितवन— क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ ।  

भरतपुर महानगरपालिका–२ मा बाँझो रहेको जमिनको तथ्यांक लिएर खेती लगाउने अभियान सञ्चालन गरिएको हो । वडा समितिले निर्णय गरेर काम सुरु गरिएको हो ।

वडा अध्यक्ष मनोज रानाभाटका अनुसार वडाभित्र रहेका १८ वटा टोलसँग बाँझो जमिनको तथ्यांक मागिएको थियो । तीमध्ये १० वटा टोलको जमिनको तथ्यांक आइसकेको छ ।

तथ्यांक प्राप्त भएको मिल्स एरिया र रामेश्वर टोल विकास संस्थाभित्रको बाँझो जमिनमा सोमबार (८ असोज) डोजर लगाएर झाडी फाँडेर खेती गर्न मिल्ने बनाउन थालिएको छ ।

उनका अनुसार ती जमिनमा समूहगतरुपमा खेती गर्न चाहनेहरुका लागि सूचना जारी गरिँदैछ । आमासमूह, टोल सुधार संस्थाजस्ता संस्थालाई जग्गा धनीले कुनै कामका लागि फिर्ता मागेको समयमा दिने गरी संस्थालाई सम्झौता गरेर जग्गा दिन लागिएको हो ।

वडाभित्र रहेका ठूला प्लटमा फूल र तरकारी खेतीका लागि संस्थागतरुपमा जग्गा माग्ने क्रमसमेत सुरु भएको छ । क्रमशः वडाभरि नै झाडी फाँडेर खाली जमिन संघसंस्थालाई खेतीका लागि दिइनेछ ।

यसरी खेती गर्नेले जग्गाधनीलाई कुनै भाडा तिर्नु पर्दैन । रानाभाटले भने,‘हामी वडालाई नमुना बनाउने गरी काम अघि बढाउदैछौँ ।’

जनघनत्व राम्रो भएको यस वडामा घरबाहेकका क्षेत्रमा जग्गा बाँझो छाडेर झाडीमा परिणत भएको छ । बाँझो जमिनको झाडी फाडेर खेती लगाएमा यसले सरसफाइ र सुन्दरता पनि दिने उनी बताउँछन् । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १४:१९
Weather Update