नुवाकोट— बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आइतबार पक्राउ परेका छन् ।
श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका– १२ का ३९ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार उनलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाइएको छ ।
‘अपहरण तथा शरीर बन्धक मुद्दा’ मा चितवन जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनाएको थियो । उनलाई आइतबार नै अदालतले कारागार चलान गरेको छ । २०६७ जेठ ४ मा श्रेष्ठको अपहरण भएको थियो । अपहरणमा संलग्न तामाङसहित छ जनालाई चितवन जिल्ला अदालतले २०६९ जेठ २४ मा कैदसहित जरिवाना तोकेका थियो । अपहरणकारीले श्रेष्ठलाई अपहरण गरी फिरौती वापत तीन किलो सुन मागेका थिए । यो घटनामा संलग्न केही यसअघि नै पक्राउ परेका थिए भने केही अझै फरार छन् ।













