
काठमाडौं— नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले उच्चस्तरीय छानबिन आयोग बनाउन जति ढिला गर्छ त्यति नै सरकारप्रति प्रश्न उठ्ने बताएका छन् ।
आइतबार बसेको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्तारूढ दलको छलफल केही सकारात्मक भएको र आफूहरूले राखेका कुराहरू पनि सुशासनको पक्षमा रहेको बताएका छन् ।
उनले भने,‘हामीले भने अनुसार पर्दा पछाडिका पात्रहरूको पहिचान गरी तिनलाई कारबाहीको तहमा ल्याउन आयेगले काम गर्न सक्ने गरी अधिकार प्रदान गर्ने भनेका छौं । हामीले सरकारलाई भनेका छौं, जति ढिलो गर्नुहुन्छ सरकारप्रति प्रश्न उठ्दै जान्छ ।’
सत्तारूढ दलले तयार गरेको मस्यौदा अध्ययनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई दिइएको छ । एमालेका नेताहरूले उक्त मस्यौदा अध्ययनपछि अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर फेरि सर्वदलीय बैठकमा सहभागी हुनेछन् ।
गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा सत्यतथ्य छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १ महिनासम्म संसद अवरोध गरेको थियो ।
एमालेले निरन्तर सदन अवरूद्ध गरेपछि गत भदौ ७ गते सरकार र एमालेबीच असोज ५ गते उच्चस्तरीय आयोग बनाउने सहमति भएपछि सदनको अवरोध खुलेको थियो ।