News Griha :: न्यूजगृह
बाजुरामा अझै चामल अभाव 

बाजुरा— दुई सातादेखि चामल अभाव रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्तडीमा शनिबार दुई सय क्विन्टल चामल पुर्‍याइएको छ । कम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले शनिबार पहिलो चरणमा मार्तडी डिपोमा दुई सय क्विन्टल जिरा मसिनो चामल ढुवानी गरिएको जानकारी दिए ।

जिल्लाको खाद्य डिपोमा नियमित आउने अनुदानको चामल ठेक्का प्रक्रिया पूरा नहुँदै चामल सकिएपछि ढुवानी भाडा पछि स्वीकृत हुने गरी तत्काल सो चामल बाजुरामा ढुवानी गरिएको जनाइएको छ ।

उनले ढुवानी गरिएको चामल आजदेखि प्रतिकिलो ९२ मा बिक्री हुने बताए । बजारमा मसिना चामलको ९५ मा पर्ने जनाइएको छ । 
मार्तडीको गोदाममा चामल सकिएपछि गत भदौ २४ गते एक सूचना जारी गर्दै गोदाममा ताला लगाइएको थियो ।
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १३:०९
Weather Update