News Griha :: न्यूजगृह
प्रहरी समायोजनसहितका कानुन नबन्दासम्म प्रदेश सरकारको औचित्य छैन : मुख्यमन्त्री पाण्डे

काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संविधानमा कल्पना गरिएअनुसार प्रदेशमा कानुन बनाउन नसकिएको बताएका छन् ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डेले कानुन बनाउने रुचि विगतका र अहिलेका सरकारमा नदेखिएको  बताए ।

उनले भने,‘संविधानले कल्पना गरेअनुसार कानुन बनाउने विगतका सरकारले पनि खासै रुचि देखाएका थिएनन् । मुख्यमन्त्रीहरूको पोखराको बैठकले बुँदाहरू लेखेर पनि दिएका थियौं, प्रतिबद्धता पनि आएको थियो । तर त्यसअनुसार कानुन बन्ने तहमा पुगेका छैनौं ।’

उनले तीन वटा कानुन नबन्दासम्म प्रदेश सरकारको औचित्य नदेखिने पनि बताए । ‘प्रहरी समायोजन, संघीय निजामती कानुन र जग्गा प्राप्ति अधिकार प्रदेश सरकारले पाउन सकेन भने प्रदेश सरकार हामीले कल्पना गरेजस्तो काम गर्न सक्ने अवस्थामा रहँदैन,’ उनले भने, ‘यी कानुन बनाउन सरकारले पहल गर्नुपर्‍यो ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:१७
Weather Update