
बेइजिङ— चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार बेइजिङ आइपुगेका छन् ।
चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङझाउ आइपुगेका प्रधानमन्त्री दाहाल स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुगेका हुन् ।
प्रधानमन्त्री दाहालले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआइटीले सम्मेलनको आयोजना गरेका हुन् ।
उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्नेछन् ।













