
काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपाल शिक्षक महासंघसँग भएका सहमति कार्यान्वयन सांसदको हातमा रहेको बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) को २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री राईले संसदमा दर्ता भइसकेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन हुनुपर्ने विषय संसद्ले गर्ने स्पष्ट गरे ।
उनले सोका लागि सरकारले सहजीकरण गर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता बद्री पाण्डेले संसदमा पुगेको विधेयकबारे सम्बन्धित समितिले गम्भीर छलफल गरेर सहमतिका आधारमा निष्कर्ष निकाल्ने बताए ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकार शैक्षिक सरोकारका विषयमा संवेदनशील नभएकाले शिक्षकले आन्दोलन गर्न बाध्य हुनुपरेको टिप्पणी गरे ।
नेकपा माआवादी केन्द्रका नेता दिनानाथ शर्माले लामो समयको प्रतीक्षापछि शिक्षा विधेयक तयार हुनु सकारात्मक भएको र यसलाई राजनीतिक दल र सांसदले गहन छलफल गरेर भविष्यका कर्णधारको गुणस्तरीय शिक्षाको अधिकार स्थापित गर्नुपर्ने बताए ।













