News Griha :: न्यूजगृह
बेथितिको कारण भ्रष्टाचार मौलायोः रास्वपा सांसद ढकाल 

काठमाडौं— प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताएका हुन् । उनले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताए ।

गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उनले यो सबैको कारण बेथिति भएको बताए ।  
उनले भने, ‘विदेशबाट शव आउँदाखेरी शवको बाक्सा फोरिएको छ एयरपोर्टमा । केही सामान छ कि भनेर लुट्नलाई । ब्यागहरू फुटेको त जानकारी थियो । समाज कहाँ जादै छ  ? समाज के बन्दैछ ? कारण के हो ? कारण भ्रष्टाचार यसरी संस्थागत भएछ ।  संस्थागत यति भएछ भ्रष्ट्राचार गरिब चेपाङ कुपोषित बच्चाको दिवा खाजा लुट्छ । दिवा खाजामा भ्रष्टाचार छ ।’

ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्  । उनी चितवन १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्  ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:३०
Weather Update