News Griha :: न्यूजगृह
नेपाली क्रिकेटलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती छ : नवनिर्वाचित अध्यक्ष चन्द

काठमाडौं— नेपाल क्रिकेट सङ्घ क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पुर्‍याउने चुनौती रहेको बताएका छन् ।

क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चुनिएपछि चन्दले सञ्चारकर्मीसँग सरकारले क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताए । 

'आगामी तीन महिनाभित्र घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्छ,' उनले भने । अध्यक्ष चन्दले क्रिकेटलाई नयाँ ढङ्गले अगाडि बढाउने बताए ।

अघिल्लो कार्यकालभन्दा यसपटक केही नयाँ किसिमबाट राम्रो काम गर्ने उनको भनाइ छ । क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् ।

सचिव पदमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । पारसले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने बताए ।

क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहनेसमेत उनको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १९:३०
Weather Update