News Griha :: न्यूजगृह
सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपतिसँग शिष्टाचार भेट

डब्लिन— सभामुख देवराज घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी.हिगिन्ससँग शिष्टाचार भेट गरेका छन् ।

राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिएका छन् ।

भेटमा सभामुख घिमिरेले कुटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवम् सम्पर्क गहन हुँदै गएको बताए ।

सभामुख घिमिरेले नेपाल र आयरल्याण्ड भौगोलिक रुपले टाढा भएता पनि कला, साहित्य, संगीत तथा संस्कृतिका माध्यमले नजिक रहेको पनि उल्लेख गरेका छन् ।

‘हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवम् सद्भाव जस्ता समान मुल्य मान्यताहरु हुन् । लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धताहरु रहेका छन्,’ सभामुखको भनाइ थियो ।

उनले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको जानकारी दिँदै नेपालको आर्थिक विकासको लागि कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधार तथा सूचना प्रविधि जस्ता क्षेत्रहरुमा लगानी गर्न राष्ट्रपतिमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको बताए ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १०:२७
Weather Update