
काठमाडौं— सरकार र शिक्षक महासंघबीच शुक्रबार साँझ भएको सहमतिप्रति राहत र बाल शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । उनीहरुले आन्दोलनको चेतावनी दिएका छन् ।
नेपाल राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले आफ्ना मागमा सरकारले सहमति नजनाएपछि वार्ता नै वहिष्कार गरे ।
उनले ४५ हजार राहत शिक्षकको माग सहमतिपत्रमा नसमेटिएको भन्दै आक्रोश पोखे । ४५ हजार राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने आफूहरुको माग भएपनि यो पूरा हुन नसकेको उनले बताए ।
अब कसरी अघि बढ्ने भन्नेबारे छिट्टै निर्णय लिइने उनको भनाइ छ । त्यसैगरी सरकार र शिक्षा महासंघबीच भएको सहमतिपत्रमा बाल शिक्षकका माग सम्बोधन नगरिएको र सहमतिको बुँदा नम्बर (ट) मा पनि अन्योल सिर्जना हुने गरी व्याख्या गरिएकोमा बाल शिक्षकहरूले आक्रोश पोखेका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत आफ्ना आक्रोश पोखेका छन् ।
विद्यालय शिक्षा विधेयक, २०८० मा असन्तुष्टि जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका थिए ।













