News Griha :: न्यूजगृह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन लगायत नउडाउन आग्रह गरेको छ ।

विमानस्थल क्षेत्रमा पटकपटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले सो कार्य नगर्न सबैमा आग्रह गरिएको प्राधिकरणका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनले भने, 'विमानस्थल क्षेत्र आसपासमा पहिलेदेखि नै चङ्गा, ड्रोन, बेलुन उडाउन निषेध गरिएको छ, दसैँ तिहार लगायतका चाडपर्व नजिकिँदै गएकाले उक्त समयमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य नहोस् भन्नका लागि आग्रह गरिएको हो ।'

प्राधिकरणले शुक्रबार विमानस्थल क्षेत्र आसपासमा उडान तथा अवतरणको समयमा पटकपटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने तर्फ सचेत रहन अनुरोध सहितको एक सूचना प्रकाशित गरेको छ ।  

चङ्गा, ड्रोन, बेलुन, लेजर लाइटले उडान सुरक्षामा पार्ने जोखिमतर्फ ध्यान दिएर यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचना मार्फत सूचित गरिएको छ । यसैगरी प्राधिकरण आग्रहलाई अटेर गरी यस्ता काम गरेमा कानुनअनुसार कडा कारबाही गरिने प्रवक्ता तथा उपमहानिर्देशक निरौलाले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २०:१५
Weather Update