News Griha :: न्यूजगृह
शिक्षा विधेयकलाई सर्वस्वीकार्य बनाउन कांग्रेसले पहलकदमी लिने

काठमाडौं—  नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जनबाट सर्वस्वीकार्य बनाउन पहल गर्ने भएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति निकालेर विधेयकलाई परिमार्जनसहित सर्वस्वीकार्य बनाउन कांग्रेसले पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।

‘संसद्मा दर्ता भएको शिक्षासम्बन्धी विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दै सरकार र आन्दोलनरत पक्षलाई सार्थक वार्ता र संवादबाट यथाशीघ्र समस्याको समाधान खोज्न र पठनपाठन सुचारु हुने वातावरण निर्माण गर्न कार्यसमितिको यो बैठक अपिल गर्दछ,’ पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ।

विद्यालय शिक्षाको विद्यमान अवस्था परिवर्तन गर्न र शिक्षक एवं विद्यालय कर्मचारीको वर्षौ देखिको समस्या समाधान गर्न समयानुकूल ऐन बहुप्रतिक्षित रहेको कांग्रेसले जनाएको छ।

‘अघिल्लो ऐन र कानुनी व्यवस्थाहरूका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्वपूर्ण विषयहरू समेट्नु एकातर्फ सुखद छ भने अर्कातर्फ कतिपय सन्दर्भमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लगायतको संविधानको मर्मलाई पूर्ण रुपमा आत्मसात गर्न सकेको छैन। साथै, विद्यालय शिक्षक र विद्यालय कर्मचारीको जायज र उपयुक्त मागलाई समेत सम्बोधन गर्न नसकेको देखिन्छ। यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन/संशोधन गर्न पर्ने विषयहरू छन्,’ कांग्रेसले भनेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १९:१३
Weather Update